दुई दशक अगाडिकै कुरा हो । साउनको झरीमा एकजना महिला प्रसव पीडामा छट्पटाइरहेकी थिइन् । लगभग उनको जीवनको तीस वर्षको धैर्यता पछिको अवस्था थियो त्यो । उनको तीस वर्षमा मात्रै उनले एक विशेष प्रेमी पाउने वाला रहेछिन् । छोरा । त्यो प्रसव पीडासँग आँट, साहस अनि भविष्यको सुनौलो आशाले उनी एक पुत्रलाई यो संसार टेकाउन अनि देखाउन सफल भइन् । त्यो बच्चाको रुवाईले उनको सारा बोझ शान्त गराइदियो । हो, मेरो जन्म यस्तै खुशीयालीमा भएको थियो रे ।
सारा खुशीले गद्गद् थिए रे । हो, त्यो प्रसव पीडाको भागीदार म पनि थिएँ रे । तर मलाई थाहा छैन । हुन त आमाको लागि सबै सन्तान अति प्रीय बन्छन् । र म पनि एकजना प्रीय थपिएछु । मैले सदियौँदेखिको तपस्या, सोच अनि अन्तरईच्छाको परीणाम स्वरुप त्यो गर्भ पाएको थिएँ । अब जीवनको सुरुवात भयो । यो संसारमा स्वागत हुनुभन्दा अघि नै प्रेम कहानीको ऐतिहासिक थालनी भइसकेको थियो । मेरा रुवाइहरु आमाको लागि कति पनि समस्याको विषय बनेका थिएनन् । म जन्मदै तृप्त थिएँ । किनकी मैले आमाबाट सबै पाएको थिएँ ।
जीवन यात्रामा विशेष बनेर सामेल हुन अब म आइसकेको थिएँ । मेरा ति बच्पनाबाट उहाँ कैलै पनि विचलित हुनु भएन । त्यो अतुलनीय निःस्वार्थ प्रेमका लागि मेरी आमा अटल ब्रह्माण्ड झैँ हुनुभयो आजसम्म पनि । जसरी आकाशको अन्त्य छैन, ताराहरु सदावहार छन्, त्यसैगरी मेरी आमाको प्रेम स्वच्छ, पवित्र, अटल अनि अनवरत रह्यो । मेरो जीवनमा हरेक कुराहरु मेरी आमासँग पहिलो भएका थिए मेरो गालामा पहिलो चुम्बन मेरी आमाको निर्मल ओठहरुका थिए । मेरा ओठहरु पनि आमाको प्रेमबाट कहिल्यै ओभाना रहेनन् । साँच्चै भन्नुपर्दा मेरो शरीरका अंगहरु सबै नै आमाकै बनेका थिए पहिलोपटक । प्रत्येक पलको स्पर्शमा प्रेम मुस्कुराइरहेको हुन्थ्यो । मेरो जीवनमा मेरो तर्फबाट पनि महिलोपटक धेरै कुराहरु आमासँगै भए ।
म अबोध अनि अचेत हुँदा देखि नै मेरी आमा मेरी प्रेमीका हुनुन्थ्यो । यस्तो प्रेमिका जोसँग मैले कैलै भ्यालेनटायन्स् डे मनाइन । मेरो अङकुराउँदै गरेको चेतनाले आमामा सर्वस्व पाइसकेको थियो । जसको लागि मानिसहरु जीवनभरी हतासिएर भौतारिने गर्छन् । त्यो मैले मेरी महान् आमाबाट जन्म पहिले देखि नै पाइरहेको थिएँ । हो, वास्तवमै यो सत्य हो कि मानिस सधैँ अनुपम प्रेमको खोजीमा भड्कियो, तड्पियो । तर सधैँ ति खोजहरु पूर्ण हुन सकेनन् किनकी आमासँगको त्यो रसरागमुक्त प्रेम बाहेक अन्य कुनैसँगको प्रेम पनि विशेष बन्नै सक्दैन । म एकदिन बडो गम्भीर भएर सोच्न थालेँ । सम्झिन थालेँ ति विगत, ति अतीत, जहाँ म थिएँ, मेरो पहिलो प्रेम अनि भ्यालेन्टाइन्स डे ।
मानिसको अन्य प्रेमका आ–आफ्नै अरु किसिमकै उद्देश्यहरु हुन्छन् जब कि आमासँगको प्रेमको लक्ष्य नै प्रेम हुन्छ । जोडीहरुको प्रेमको अन्तिम विन्दु यौनमा गएर टुङ्गिन्छ । यौनले शारिरिक सन्तुष्टि दिन्छ तर आत्मिक प्रेमरस घटाउँदै लान्छ । ति प्रेमहरु अध्यात्मिक मिलनबाट अघि बढेका हुँदैनन्, शारिरिक आकर्षणले मात्रै फूलेका हुन्छन् । ति प्रेमहरु यौन बिना पूर्ण हुँदैनन् । तर आमासँगको प्रेममा यौनका लागि ठाउँ हुँदैन । अनि यदि त्यसो हुँदो हो त यो सदावहार र भिन्न प्रेमको महसुस कसैले गर्न पाउने थिएन । यो पनि घृणा योग्य र तुच्छ बन्न पुग्थ्यो । परमात्मा भन्दा उपल्लो दर्जाको करुणा हो, आमाको प्रेम । आज यो मन सक्रिय भइरहेछ । विचारहरु उत्सर्जन गर्दैछ । इतिहास सम्झिँदैछ । आफ्नै इतिहास आफैसँग बनेको ।
आजसम्म कुनै युगमा पनि आमाको प्रेमको दर्जामा कुनै कुरा आउन सकेन । ‘उनी’ सँगको प्रेममा हाम्रा कपडाहरु खुल्छन्, मन खुल्दैन । आमासँगको प्रेममा कपडा खुल्दैन तर मन खुल्छ । यसैगरी केही रातहरु आमाको प्रेम र उनीसँगको प्रेमबारे सोच्दैथेँ । फेरि मलाई आँखा अगाडि याद आयो, स्मृतिहरु सल्बलाए । मेरो पहिलो चुम्बन चैँ कसलाई थियो त ? हो, तिनै आमालाई जोसँग मेरो युगौँ देखिको आत्मिक अनि अध्यात्मिक संगम थियो । मैले अलिक ठूलो भइन्जेलसम्मै दूध चुसेको थिएँ । भन्नुपर्दा मेरा ओठहरु मलाई जीवनामृत दिने उहाँका दूधहरुमा पहिलोपटक ठोकिएका थिए । मैले कति दुखाएँ होला । दाँत उम्रेपछि टोकेँ होला तर आमा मुस्कुराइरहनु नै हुन्थ्यो । किनकी म एक अमूल्य प्रेमी थिएँ उहाँको लागि । उहाँ मेरो लागि ।
मैले प्रत्येक पटक दूध चुस्नुमा म जीवन पाउँथे अनि वास्तवमा मेरो ईश्वरीय रचनाले बनेको प्रेम पाउँथे । जसको कुनै तुलना छैन । मैले हाँस्ने हुन थालेदेखि मेरो पनि प्रेमको प्रकट गर्न थालेँ निरन्तर रुपमा । मेरो प्रेमको स्वरुप निर्दोष मुस्कानहरु अनि अन्जान चुम्बनहरु थिए । मेरा ओठहरुले आमाका निधार, आँखा, गाला, ओठ, सबैतिर बेलाबेलै चुम्बनहरु बर्षाउथेँ । ति चुम्बनहरु मेरी आमालाई मूल्यवान लाग्थे । मलाई उक्साउनुहुन्थ्यो, मेरो बाबु धेरै ज्ञानी भनेर । म अझै फुरुङ्ग हुन्थेँ र माया गर्न तम्सिन्थेँ । ति यादहरुले निकै भावुक बनाइरहेछन् । मन तरङ्गित हुँदै फेरि सोच्न थाल्छ । अन्य माया, ‘उनी’ सँगको प्रेम ससर्त गरिन्छ प्राय ।
तर आमाको प्रेम सधैँ वेसर्त, निसर्त छ । उनीसँग र आफूसँग मागहरु राखिन्छन् । तर आमाको प्रेममा केही डिमान्ड हुँदैन । त्यो प्रेम सम्बन्धमा सुरक्षित अनुभूति नहुन सक्छ तर आमाको प्रेम सुरक्षा कवच हो । यस्तै सोच्दैथिएँ । अचानक मोवाइल बज्यो, फोन उठाएँ । कस्तो भाव ! आमाले नै गर्नुभएको रहेछ । मैले भनेँ, “आमा म तपाइलाई नै सम्झिँदै थिएँ ।” उहाँले भन्नुभयो, “तेरो हालखबर के छ, भनेर फोन गरेको, सन्चै छस् नि ?” “म सन्चै छु, हजुरको आशीर्वादले” “ल है त आफ्नो स्वास्थ्यको ख्याल राख्नु, पढाइमात्रै होइन, अहिले राखेँ” छोटो कुराकानी ।
ओहो ! कति प्यार । कति समर्पण । कति ध्यान अनि ख्याल । मैले आमालाई केही दिऊँ वा नदिऊँ, उहाँले मलाई कैलै रित्तो राख्नुभएन । मैले सम्झिउँ वा नसम्झिउँ । उहाँले एक पल पनि बिर्सनुभएन । म चकित पर्छु । किन यस्तो अनौठो प्राकृतिक बन्धन त म र आमाबीच ? किनकी उहाँले मलाई सच्चा प्रेम गर्नु हुन्छ । यस्तो प्रेम जसको सम्मान गुलाफले गर्नै सक्दैन । यस्तो प्रेमभाव जसको सम्बोधन कसैको शब्दले गर्नै सक्दैन । यस्तो प्रेम जुन प्रेमको लागि मैले भ्यालेन्टाइन्स डे मा कैलै गुलाफ दिइनँ । उहाँको काख मेरो डेटिङ्ग स्पट बन्यो । उहाँको प्रत्येक बोली नै मेरा लागि प्रस्ताव बने । उहाँको आँसु मेरो लागि प्रेरणाको स्रोत बने । उहाँको प्रेम खुशीको आधार बन्यो ।
आज ‘उनी’ सँगको प्रेम पनि मानसपटलमा छचल्किरहेको छ । म मेरी आमाको पवित्र प्रेमबाट प्रेरित हुँदै थिएँ । यतिकैमा मेरो जीवनमा ‘उनी’ आइन् मेरी बनेर । मैले निकै दिन कुरेको थिएँ प्रेम प्रस्ताव राख्नलाई । किनकी प्रेमील जोडीहरु एक हुने दिन भ्यालेन्टाइन्स डे लाई पर्खदैँ थिएँ । अन्ततः त्यो दिन आयो । प्रस्ताव राखियो, पृथ्वीलाई साक्षी राखेर गुलाफको साथमा । खासमा प्रस्ताव एक औपचारिकता मात्रै थियो । यथार्थ यो थियो कि हामी एक अर्कामा मन परीसकेका थियौँ । हामीले अबको जिन्दगी एक अर्कालाई सुम्पेको अनि सच्चा प्रेम लिनेदिने भनेर वाचा गरेर छुटिएका थियौँ त्यो दिन । रोमाञ्चक पल थियो । सम्झन लायक क्षणहरु थिए । जिन्दगीलाई फर्केर हेर्दा विगतमध्येका त्यो दिन पनि मेरो डायरीमा सुरक्षित रहेछ खुशी लाग्यो । मैले उनीसँग भ्यालेन्टाइन्स् डे पनि मनाएँ, गुलाफ दिएँ । बद्लामा गुलाफ पाएँ । चुम्बनहरु पनि साटासाट भए । यी चुम्बनहरु यौनिकताले भरिपूर्ण चुम्बनहरु थिए । कामुक थिए । उत्तेजित थिए । ति पनि मानसपटलमा ताजा नै छन् । उनीसँगको प्रेमको अङ्गालोमा बाँधिएर जीवनमा थप रोमाञ्चकताको अनुभव संगाल्दै थिएँ । हामी सबैमा केही बन्ने अभिलाषा हुन्छ । त्यही महान सपनाका साथ म अघि बढीरहेको थिएँ । अब मेरो साथमा पहिलो पे्रम आमाको र उनको प्रेमको आशीर्वाद थियो ।
आखिर जीवन एक गतिशील यात्रा हो । मेरो भविष्यको डिजाइन गर्न म उच्च शिक्षाका लाग विदेश गएँ । मैले मेरी आमालाई ज्यादै याद गर्थेँ र उनीलाई पनि धेरै सम्झन्थेँ । म एक दृढता बोकेर गएको थिएँ । मैले उनीलाई भनेको थिएँ कि मलाई तिम्रो प्रेरणा चाहिन्छ । म ५ वर्षको लागि गएको थिएँ । तर यता उनको के थियो, मलाई जानकारी भएन । नियमित कुराकानी भएकै थियो । एकदिन उनीसँग मेसेन्जरमा कल भयो । निकै लामो संवाद । निकै गम्भीर संवाद । उनले भनिन् कि अब विवाह गर्न जरुरी छ, घरबाट दबाव आउन थाल्यो । मैले भनेँ “२/३ वर्ष पर्खाैँ ।” उनले भनिन् “अब समय छैन ।” उनी, “प्लीज, मलाइ बुज्नुस् र छिटो आउनुस् ।” म, “म तिमीलाई दुखाउने छैन, मैले आमाबाट प्रेम सिकेको छु । म आउनेछु ।”
मैले उनको अवस्था बुझ्नु आवश्यक छ । म विवाह गरेर फर्कनको लागि घर आउने योजना बनाएँ तर स्तब्ध थिएँ, हाम्रा केही अन्य आन्तरिक कुराले । मेरो मन अस्थिर भयो । म हतासमा थिएँ । घर आउने प्रक्रियाका लागि राजदुतावास जान गाडी चलाएँ । मनमा लाग्दैथियो केही होला कि भनेर । साँच्चै मनले भनेझैँ भयो । मेरो गाडी दुर्घटना भयो । म आत्तिएर कराएँ, मेरी आमा ! कराएको याद छ, त्यसपछि … ।
मेरो जिन्दगीको साढे तीन महिना भन्दा बढी अँध्यारा भएर बितेछन् । हिजो सबै बिर्सीएछ, भोलि पनि भर्खर याद आएछ, जसोतसो वर्तमानमा चैँ बाँचेछु । मेरो जीवनले पूनर्जन्म पाएछ, इश्वरको कृपाले आमाको आशीर्वाद अनि प्रेमले । हो, त्यो महिनौको हस्पिटलको बसाइपछि म नेपाल फर्किएँ । घर गएँ । थाहा पाएँ कि मेरी आमा अथवा पहिलो प्रेम धेरै दिनदेखि मरेतुल्य हुनुभएको रहेछ । मेरा आँखा रसाए । म भक्कानिएँ । आमाले अङगालो हाल्दै डाको छोड्न थाल्नुभयो । म फेरि तेरो आगमनले बाँच्न सक्ने भएँ बाबु भन्नु भयो । म निशब्द भएँ । केही समयपछि आमाले नै भन्नुभयो, तेरो केटीले अर्कोसँग विवाह गरी । यहाँ गाउँमा त्यो केटो मर्छ अब भनेर हल्ला चलाएका थिए । यो सुन्दा म अनियन्त्रित हुन्थेँ बाबु, आमा फेरि रुनुभयो । मैले सम्हाँले ।
ति वाचा, बन्धन र भ्यालेन्टाइन्स् डे का गुलाफहरु ताजा भए । बिस्तारै आँसुले बगाएर लगे । फेरि पनि मेरो जीवनको पहिलो प्रेम नै मेरो साथमा हुनुन्थ्यो । मलाइ सधैँ पर्खिरहनुभएको । मेरो तीन महिनाको दशाले वर्षौँको दृढ वाचा बन्धनलाई जितेको थियो । प्रेम त कतै हारेन, किनकी म उनकै यादमा अहिले कलम चलाउँदैछु तर हामी हा¥यौँ । परिस्थितिको अगाडि हामी चुक्यौँ, हामी ढल्यौँ त्यो ठूलो कुरा होइन । तर यथार्थ त यो हो कि भ्यालेन्टाइन हारे, भ्यालेन्टाइन्स् डे हा¥यो अनि वाचाहरु सबै हारे ।
आज म विगतलाई सम्झेर जिन्दगी केलाउँदैछु, सच्चा पे्रम पहिचान गर्दैछु । आज म भन्न चाहान्छु । मेरी पहिलो प्रेम आमासँग मैले कहिल्यै भ्यालेन्टाइन्स् डे मनाइनँ तर पनि हाम्रो विश्वास टुटेन । भरोसा खलबलिएन । हामी कहिल्यै मोडिएनौ, तोडिएनौ, अनि छोडिएनौ । मैले कहिल्यै फूल दिइनँ । किनकी त्यो प्रेम संसारका सबै सांसारिक तथा भौतिक वस्तुभन्दा धेरै माथि छ । ‘उनी’ सँगको प्रेममा दुवैले फूल साटेका थियौँ । गुलाफ नै थियो । भ्यालेन्टाइन्स् डे कै दिन तर अफसोच हामी कहिल्यै जोडिएनौ । आज मनले भन्छ उनीसँगको प्रेमलाई सांसारिकतामा तुलना गर्नु, भ्यालेन्टाइन्स् डे मा प्लास्टिकको गुलाफमा प्रेम देख्नु, देखाउनु र त्यही दिनको लागि मात्र प्रेमलाई सिमीत राख्नु प्रेममा ठूलो भूल हुन सक्छ ।
जब जोडीहरुको प्रेमले आमासँगको पहिलो प्रेमको गुण र तह भेट्न सक्छ तब यो संसारमा सम्बन्धहरु सुमधुर अनि सदावहार हुनेछन् । जुन दिन प्रेमको लागि ३६५ दिन नै भ्यालेन्टाइन्स् डे हुनेछ त्यही दिन प्रेम गर्नेहरुको विजयको दिन हुनेछ ।
No comments:
Post a Comment