धेरै वर्ष अगाडिको कुरा हो । म धेरै सानो थिएँ । ठ्याक्कै याद छैन । तर बीस वर्ष चाँहि पक्का हो । म कहाँ हो कहाँ वस्तुहरुलाई ठम्याउने पनि भइसकेको थिइनँ । तर चमकताले र उज्यालोले मलाई जरुर तान्थ्यो ।
एकदिन मेरो घरमा एकजना दाइ आउनुभयो । उहाँ को हुनुहुन्थ्यो, अहिले पनि मलाई याद छैन । त्यसबेलादेखि अहिलेसम्म उहाँ सधैँ अजनवी नै रहनु भयो । तर उहाँसँग एउटा प्रसङ्ग कहिलै अपरिचित हुन सकेन । उहाँले एउटा कालो चश्मा लगाउनुभएको थियो । मैले देख्दा बाहिरबाट राम्रो टल्किएको थियो । म मख्ख परेँ । त्यो चमक, त्यो भिन्नै अनुभूति मस्तिष्कमा पर्न गयो ।
म त्यो चश्मा प्रति यति आकर्षित भएँ कि मेरो सबै लक्ष्य त्यही प्राप्त गर्न मात्रै भयो । ति दाई खै कुन्नी के कामले आएका थिए बुबासँग भेट गरेर गए । तिनको क्षणभरको बसाइले त्यो कालो चश्मा प्राप्त गर्न जे पनि गर्ने बनाइदियो । भनौँ मलाई त्यसको मोह असाध्यै बढाइदियो । यद्यपि मलाई त्यसको नाम समेत थाहा थिएन ।
अब मैले त्यो चश्माको लागि बडो जिद्दी गर्न थालेँ । मेरो चित्कार बजार जाँदै गर्नुभएको मामाले नि महसुस गर्नुभयो । तिनै मामाले मलाई बजारबाट एउटा त्यस्तै कालो चश्मा ल्याइदिनुभयो । म खुशीले खुब नाचेँ, रमाएँ, एक हिसाबले संसार जिते झैँ भयो । अमूल्य वस्तु हात परे झैँ । जसरी टलक्क टल्केको देखेर माग गरेको थिएँ, अब त्यस्तै अपेक्षा मलाई थियो । मेरो भगवान जस्तै राम्री आमालाई त्यो लगाएर हेर्न सोच्न थालेँ ।
अब सबैजनालाई त्यो देखाउने अनि त्यसले संसार हेर्ने भएँ । एकदमै धेरै त मेरी उनी जोसँग म सँगै क, ख सिक्थेँ, हो एक अर्थमा उनीसँग मेरो कलिलो मुटुमा बाल प्रेम टुसाइसकेको थियो । उनी हाँस्ने गर्थिन्, लजाउने गर्थिन्, कैले झगडा गर्थिन् तरपनि उनी धेरै राम्री थिइन् मेरी उनी । म उनलाई त्यो चश्मा लगाएर हेर्ने वाला थिएँ । मेरो यथार्थको दुनियाँलाई थप सुन्दरता थप्छ भन्ने विश्वास थियो ममा त्यो चश्माले ।
म बडो रोमाञ्चित हुँदै चश्मा लगाएँ, खुशीले मेरी देवी जस्ती आमालाई हेरेँ, तर म खुशी हुनै सकिनँ, किनकी मेरी त्यति राम्री आमा अब त काली देखिनुभएको थियो । म छक्क परेँ, आमा कसरी बद्लिनुभएछ ! मलाई चश्मा त प्यारो थियो तर अब त संसारदेखि अचम्म लाग्न थाल्यो, किनकी सबै आफू अगाडि आउनेहरु कालो देखिन्थे । फूलेका फूलहरु अँध्यारा काला देखिन्थे । मेरो उपहार थियो, त्यो चश्मा ।
मैले छोड्नै सकिनँ । मेरो कोमल प्रेमिका त बद्लेकी छैनन् जस्तो लाग्यो नियालेर हेरेँ चश्मा लगाएर तर म हाँस्नै सकिनँ किनकी संसारको सबैभन्दा राम्री मान्छे पनि अध्याँरो अनि काली देखिएकी थिइन् । म पुनः चकित भएँ किन यो बद्लिइछे ! मैले कैलै चश्मा छोड्नै सकिनँ किनकी त्यो प्रिय उपहार पनि थियो । मैले महिनौ लगाएँ र अब त चश्मा मेरो आदत भइसकेको थियो । त्यो कालो चश्मा बाहिरको दुनियाँ मेरो यथार्थ बनिसकेको थियो ।
कसैले मेरो आमा नराम्री भन्दा जाइलाग्ने मान्छे अब मेरै लागि कालो नराम्री आमा बनेकी थिइन् । स्वर्गकी अप्सरा झैँ लाग्ने मेरी ति सानी परी पनि अब मेरो नजरमा काली, कुरुप भइसकेकी थिइन् ।
आउँदो सारा जीवन म उनै परीसँग कल्पना गर्दैथिएँ तर अब त त्यो कालो बद्लिएको रुपमा मेरो प्रेमाकर्षण हराइसकेको थियो । म जति जति बढ्दै गएँ, पढ्दै गएँ, संसार त्यति त्यति कालो नै रह्यो । मेरी परी फेरि सुन्दर बन्न सकिनन् । मेरी आमा फेरि देवी बन्न सक्नुभएन । वर्षै सम्मको प्रयोगले त्यो कालो चश्माले संसार निरश बनाउँदै गयो । आज सम्झदा लाग्छ मैले त्यो किन लगाएछु सबै संसार कालो बनाइदियो ।
धेरै समयपछिको कुरा हो मलाई जो मामाले चश्मा दिनुभयो, उहाँ बित्नुभएछ । उहाँ बितेर जानुभयो तर मेरो त्यो चश्माप्रतिको मोह घटेन । चश्माले आफ्नो अस्तित्व अनुसारको पभिाषित गरेको संसार पनि फरक बन्न सकेन । मेरी प्रेमीका राम्री बन्न सकिनन्, मेरी आमालाई मेरो दृष्टिकोणले रुप फेर्न सकेन । मेरो चश्मा ज्यादै पुरानो भइसकेको थियो, खुकुलो पनि भइसकेको थियो अडिन मुश्किल भएको थियो ।
अस्ति भर्खर बाइकको चाबी भुइमा खस्यो टिप्न खोज्दा त्यो कालो चश्मा पनि झरेर फुट्यो । मलाई दुःख लाग्यो तर फेरि सोचेँ सायद अब संसार फेरि राम्रो हुनेछ । मैले उनलाई भेटेँ तर उनी त्यस्तै काली थिइन्, मैले विवाह गर्न सकिनँ । उनलाई गुमाएँ । मेरो वर्षाैँदेखिको बाहिरी चश्मा फुट्यो तर दृष्टिकोणरुपी चश्मा फुट्न सकेन, जुन त्यो कालो चश्माले बनाएको थियो । भ्रमलाई यथार्थ ठान्दा सबै गुमेछन् ।
हामी बाहिरी चश्मा त फेर्न सक्छौँ तर अन्तर विचारको चश्मा फेर्ने साहस गरौँ । यो कथा हो तर हामीसबैको यथार्थ चित्रण बोकेको पो छ कि ? महसुस गरौँ ।