कुन बाबु आमाले आफ्नो सन्तानलाई नाङ्गै राख्न चाहन्छन् होला ? समाजमा यस्ता मानिसहरु छन् जो भएर महङ्गा उच्छि«ङखल कपडा लगाउँछन् । आफ्नो शरीरलाई अर्धनग्न बनाउँछन् । तर समाजमा यस्ता धेरै छन् जो नभएर नै नाङ्गै छन् । एक निरपेक्ष गरीबी (Absolute Poverty) मा रहेर सधैका पीडितहरु छन् । जसलाई मौसमी पीडाहरुले पनि सताएको छ । सदियौँदेखि राजतन्त्रात्मक व्यवस्थाबाटै उपेक्षा गरिएको यो समुदाय, कोशी ब्यारेग पारीपट्टि नहरकै किनारामा बस्दछ । मौसमी पीडित हुँदा त जसोतसो केही सहयोग होला विभिन्न निकायबाट तर त्यो भन्दा ठूलो सधैँको चरम गरिबीको पीडा हो यो समुदायको निम्ती । बाढी र आँधीले वर्षेनि सताउने गरेको यथार्थ हो भने त्यो भन्दा ठूलो सङ्कट अक्सर दिनैको निभेको चुलो, नाङ्गा बालबच्चाहरु यस समुदायको कारुणिक यथार्थ हुन् । सुकुम्बासीको रुप उनीहरुको यथार्थ हो । प्रायजसो दास, मण्डल, मुसहर र केही मुसलमानको उपस्थिति रहेको यो स्थानमा करीब एक सय घरको बसोबास रहेको छ । The Way Of Success को टिमले गत भदौ ६ गते राहत बाँड्ने क्रममा स्थलगत निरीक्षणले यो अवस्थाको चित्रण गरेको हो ।
पहिलो भनेको उनीहरुलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्नु, अन्यथा जति राहत बाँडेपनि वर्षेनि उही पीडा दोहोरिन्छ । अनि दास्रो उनीहरुले जसोतसो दुई छाक टार्नु र दुई सरो लगाउन सक्ने अवस्थाको सृजना गर्नु । यी कदमहरु अति अनिवार्य कार्य हुन् यो समुदायको निम्ती । यी कार्यहरु कसको हो ? राज्यको ? NGO/INGO को ? वा कसैको व्यक्तिगत प्रयास ? कसको हो ? कानुनी र नितीगत रुपले हेर्दा पक्का पनि यो जिम्मेवारी राज्यको नै हो तर मानव मन र मानवताले हेर्दा यो हामी सबैको जिम्मेवारी हो । राज्यतर्फ ठाडो प्रश्न खडा हुन्छ कि बाढी वर्षेनि आउँछ यो समुदायको हालत सधैँ दयनीय नै हो । भने खोइ त यो समुदायलाई सुरक्षित र आत्मनिर्भर बनाउने सरकारको नीति ? कति समयसम्म सिमीत राहतमा मात्रै परनिर्भर बनाउने ? यो एक गम्भीर स्थिति होइन र ? यसमा सरकारको विशेष ध्यान जाओस् ।
यसैगरी मानवीयता हेर्दा भने कतै हामी सबैले केही गर्न पो सकिन्छ कि ? पुराण, मन्दिर, गुम्बा, चर्च, आदिमा दान गरेर तपाइ हामीले अलौकिक भगवानबाट आशीर्वाद प्राप्त गर्छाैँ कि गर्दैनौँ यो थाहा छैन । तर यी जीवीत मनहरुलाई सहयोग गर्दा उनीहरुको भावनाले हामीलाई आशीर्वाद जरुर दिन्छन् । जो सयौँ पुराण र धार्मिक स्थल निर्माण गर्न सहयोग गरेभन्दा सर्वाेत्तम हुन सक्छ । धर्ममा गरिएको सहयोगले कुन मानव समुदायको के कसरी साँचो व्यवहारिक हित भएको छ ? त्यो आफैँ लेखाजोखा गर्नुस् मनदेखि । यसको मतलब यो भनिरहेको छैन कि त्यस क्षेत्रमा सहयोग नै नगरौँ । तर कृपया कुन ठाउँमा कसको निम्ती किन सहयोगको वास्तवमै आवश्यकता छ भन्ने सत्यलाई प्राथामिकता दिऔँ । याद राखौँ मानवताको सेवा नै सर्वोत्तम सेवा हो । यदि हुन सक्छ भने सहयोगी मनहरु, निकाय आदिले स्थलगत् निरीक्षण गरेर केही गर्न सकिन्छ कि ? राहत बाँड्ने क्रममा लुछाचुडी हुन खोज्नु, जहाँ जाने सबैसँग केही पाउने आशामा नजरहरु पर्नु उनीहरुको दोष होइन । उनीहरुको प्रत्येक पलको चरम गरिबीले निम्त्याएको सत्य हो । त्यहाँका बालबालिकाको शिक्षादिक्षा परको कुरा पहिले खाने, लाउने व्यवस्था जरुरी छ । जे जे हुन सक्छ मनले गरौँ साथसाथै धनले सहयोग गरौँ ।
मानिसहरु बानीले प्रभावित हुन्छन् । चौतर्फी विकासमा त्यस वातावरणले भूमिका खेल्दछ । यी बालबालिकाको यो हाँसोलाई संरक्षण गरौँ । यो भन्दा ठूलो सेवा के हुन सक्छ ? यो भन्दा ठूलो धर्म के हुन सक्छ?
एसपी उप्रेती
मोटीभेसनल स्पीकर
No comments:
Post a Comment