Sunday, November 26, 2017

भोट के मा ...?


निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । भोटले देशको सम्पूर्ण बनोट बदल्छ । नेता र जनताको कोट बदल्न सक्छ । तर नेताको मात्रै कोट बदल्ने प्रवृत्तिमा भएको भोटले भने जनताको चोट उस्तै रहन सक्छ । यसर्थ भोट विशेष छनोटले मात्रै लगाउनु पर्दछ । निर्वाचनको विशेष माहोल यो पुस्ताले बडो गजबले नियालिरहेका छन् । राजनीति गर्न पनि सामाजिक सञ्जालले औधी टेवा पु¥याइरहेका छन् । सही निर्णय, असल उम्मेद्वार र सम्भावना बोकेको पार्टीले जित्नु नेपाल नेपालीको भविष्य हो । म एक सचेत नागरिक हुँ । एक आशावादी व्यक्ति । हामीले कुनैपनि मामलामा नयाँ चाहिँ राम्रो भइहाल्छ भन्ने भ्रम पाल्नु ठीक हुँदैन । उदाहरणका निम्ती बिगतलाई लिन सकिन्छ । जस्तो पहिलो पटक माओवादी चुनाव लड्दै थियो । वास्तवमै ब्यालेटको राजनीतिमा उनीहरु बिलकुल नयाँ थिए । पहिलो पार्टी बने नेतृत्व गरे । यद्यपि ठूलो विकासको निकास आएन देशमा । तर यसो भनीरहँदा शत प्रतिशत न्याय नहुन सक्छ । जस्तो उबेलामा जित्नुको लक्ष्य नै राजनीतिक स्वतन्त्रताको संवैधानिक सुरक्षा गर्नु थियो । जो काम निर्धारित समयभन्दा दोब्बर लगाएरै भएपनि पुरा त भयो । आज नयाँहरुले भ्रष्टाचार, विकृति, विसङ्गतिको विषयमा जति चिन्ता गर्छन्, त्यति नै चिन्ता हामी सबैलाई छ । यो कुरा किन प्रासङ्गिक छ भने अगाडिका चुनावमा जितेर जानुको लक्ष्य नै संविधान बनाउनु थियो । जसको धरातलमा हामी सबैले आज टेकिरहेका छौँ । र अहिलेको निर्वाचनमा सबै दलको एजेन्डा नै विकास निर्माण र उन्नति प्रगती छ । हामीले मान्नैपर्ने कुरा के हो भने हामी सबै निकै आशावादी बन्न सक्छौँ कि अब देशमा आउँदा दिनमा पक्का निकै राम्रा कार्यहरु हुँदै जानेछन् । जो स्थानीय तहको चुनावले सुरु भइसकेको छ । आजभोलि १५÷२० लाखका वा सो भन्दा बढी आकारका बजेटहरु विभिन्न साना ठूला विकास कार्यमा लाग्न सुरु भइसकेका छन् । जब कि तिनै शिर्षकका बजेटको लागि संभवत मन्त्रालय जानुपथ्र्यो र अक्सर रकम छैन भन्ने सुन्नुपथ्र्याे । तर पैसा त रहेछ नि मात्रै प्रणाली चाहियो । र प्रणाली साँच्चै आइसकेको छ । त्यसैले हामी आशावादी बन्नै पर्छ ।

अब भोट हाल्ने प्रसङ्गमा आऊँ । हो अझै कतिले नकारात्मक ढङ्गले माओवादी पार्टीको कुरा गर्लान् । कतिले दम्भका साथ भन्लान् कि हामीले गरेका हौँ भनेर । जसले जे भने नि स्वतन्त्र र निष्पक्ष भएर हेर्दा यो देश आज धेरै रुपमा माओवादीको एजेन्डामा हिँडिरहेको छ । संविधान सभाबाट संविधान, संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षता । यी प्रमुख मुद्दाहरु सर्वप्रथम माओवादीकै थिए पछि अरुले पनि आत्मसात गरे । यस अर्थमा वर्तमान राजनीतिक परिवर्तनको प्रमुख श्रेय माओवादी वा प्रचण्डलाई दिन मिल्छ । अब विकासलाई हेर्दा भ्रष्टाचार, चलखेल, माफिया मात्रै व्याप्त भयो । तर मेरो फरक मत छ । जस्तो कि यदि आफू सधैँ हिड्ने बाटो जानेर नजानेर वा प्रलोभनमा परेर बिगार्दा सबैभन्दा बढी नोक्सान आफैलाई हुन्छ । अनि उक्त बाटोलाई सुधार्नुपर्ने आवश्यकता पनि आफैमा बढी महसुस हुन्छ । भन्नुपर्दा जसरी बिगारिएको छ, कसरी बनाउने भन्ने अनुभवी ज्ञान पनि आफैलाई हुन्छ । हो नेपालमा विगत निकै वर्षदेखि हरेक अवस्था बिग्रँदै गयो । बिगारिँदै गइयो । विद्यमान ठूला पुराना राजनीतिक दलले बिगारे अथवा बागडोर सम्हालेका दलले बिगारे । बगार्ने यिनीहरु नै हुन् र उनीहरुको ब्रह्म खुलेमा यो देशलाई सुधार्ने र विकसित बनाउने पनि उनीहरु नै हुन् । सानो उदाहरण हेरौँ । हिजो टाउके नेताहरु २÷३ ठाउँमा चुनाव लड्न पाउने र एक ठाउँमा हारे पनि अर्काे ठाउँमा जीतेर राज गर्ने प्रवृत्ति थियो । त्यस्तै समानुपातिकमा गोजीबाट तान्ने मानोमानी पद्धति थियो । त्यो अहिले दुवै बद्लियो । मतलब बदले उनीहरुले नै । सुखद् परिवर्तन पनि क्रमिकरुपले हुँदैछन् । 

अब एकछिन नयाँका कुरा गरौँ । विवेकशील पार्टी दुई तिन वर्ष अघि नै खुलेको थियो । उनीहरु विभिन्न सकारात्मक, व्यवहारिक र प्रशंनीय कार्यहरु गर्दै थिए । उनीहरुको कार्यहरु साँच्चै गजबका थिए । म निकै प्रभावित पनि थिएँ । हुन त अहिले विवेकशील साझा पार्टीप्रति पनि मेरो सद्भाव र विशेष शुभेच्छा छ । यद्यपि रविन्द्र मिश्रको पत्रकारीताको म जति प्रशंसक र फ्यान थिएँ उति नै राजनीतिक समर्थक म अहिलैसम्म हुन सकेको छैन । तर म बुलंद आवाजले भन्छु मलाई परिवर्तन चाहिएको छ । जब उनले साझा पार्टी र विवेकशील नेपालीको एकता हुने कुरामा उनलाई नेतृत्व नै आवश्यक भइहाल्यो, किन ? के उनले विद्यमान अध्यक्ष उज्वल थापाकै नेतृत्वमा केही वर्ष जनताको सेवा गर्न सक्दैनथे ? अगर निकै ढिलो हुनेछ भन्ने लागेको भए २÷४ वर्ष अगाडि नै राजनीतिमा आउँदा हुन्थ्यो । अनि आफू नै क्षमतावान लागेको भए, ठीकै छ पार्टीको जुनसुकै तहमा रहेर पनि त आफ्ना ओजपूर्ण ज्ञानले, व्यवहारले पाइला चाल्न सकिन्थ्यो नि ! हुन त दुवै जना संयोजक हुनु नयाँ अभ्यास हो । के कुरा स्पष्ट छ भने रवीन्द्र मिश्रमा पनि राजनीतिक त्याग, धैर्यता र समर्पण खोइ त ? जुन कुरा जनताले पहिलै व्यवहारिक रुपमा देख्न पाएका भए उनीप्रति विश्वासको जग अझै बलियो हुन्थ्यो कि ? म त उनी व्यवहारिक पत्रकारीताबाटै मानिसको सोच, समाज र राष्ट्र बदल्न योगदान दिएका भए हुन्थ्यो भन्ने विचारक पनि हुँ । नयाँ हुँ वा हौँ त्यसैले हामी विकास गर्छाैँ भन्नु तर्कपूर्ण छैन । राम्रो फुटबल खेल्ने मान्छेले क्रिकेट पनि उतिकै राम्रो खेल्छु भन्नु वा सोच्नु पनि त्यति बुद्धिमानी होइन । 
यदि परीवारमा छोराछोरी बिग्रेमा नयाँ सन्तान फेरि जन्माउन तिर लाग्ने कि भएकालाई सुधार्न तिर लाग्ने ? कैयौँ वर्षको राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र यी सबै व्यवस्थाको आमूल परिवर्तन भई नेपालमा पूर्ण राजनीतिक स्वतन्त्रता प्राप्त भएको छ । यो सबै चरणहरुमा यहाँ रहेका सम्पूर्ण पुराना दलहरु र आम जनताको भूमिका प्रमुख रह्यो । अनि अहिले कसैले दलहरुले केही गरेनन् भन्न मिल्छ र ? 

जहाँसम्म विकासका कुरा छन् । यदि हामीले अमेरिका, बेलायत, रसिया, चीन, जापान, अस्टे«लिया लगायत विकसित देशहरुको राज्य सञ्चालन व्यवस्था हे¥यौँ भने राष्ट्रिय स्तरमा केवल एक अथवा दुईवटा मात्रै राजनीतिक शक्तिहरु छन् । जसले गर्दा check and balance पनि निरन्तर हुने भएकाले विकास गर्न सहज हुन्छ । नेपालमा पनि यसरी नै मात्रै दुईवटा शक्तिहरु भए भने दु्रततर गतिमा विकास हुन सक्छ । चाहे त्यो कांग्रेस र कम्युनिष्ट हुन् वा अन्य कुनै तर आर्थिक समृद्धिका लागि केवल दुईवटा शक्ति मात्र आवश्यक छ । अबको बहस भनेको विवेकशील साझा पार्टी पनि कुनै शक्तिमा जानुप¥यो र त्यहाँ भित्र रहेका विकृतिलाई फाल्नु प¥यो । विवेकशीलको स्वच्छता उनीहरुले अङ्गाल्नुप¥यो, उनीहरुको मुद्दा वा राजनीतिक सिद्धान्त विवेकशीलले अबलम्वन गर्नुप¥यो । हटेर वा नयाँ बनेर होइन डटेर अवस्था र व्यवस्था दुवै बदल्न वा संस्थागत गर्न लाग्नुपर्ने अबको अत्यावश्यकता हो । यदि पानीको ठूलो मुहान फोहोर भए त्यही मुहान सफा गर्नु श्रेयस्कर हुन्छ, त्यसलाई छोडेर नयाँ मुहान निर्माण गर्नतिर लाग्दा त्यो दुषित पानीले जनतामा झन् विकराल समस्या उत्पन्न हुन्छ नयाँ मुहान तयार हुने समय सम्ममा । जसले जहाँ समस्या देखिन्छ त्यही समस्याको सृजना हुने ठाउँमा वैचारिक संघर्ष गरेर नयाँ व्यवहारिकताको स्थापना गर्न सक्नु मात्रै सच्चा रुपान्तरण हो । यदि यसो हुन सक्यो भने कुनै दल विशेष मात्रै होइन बल कि नेपालीको जीत हुनेछ । 
भ्रष्टचार निवारण र शुशासनको स्थापनाका लागि हामी जनता पनि उतिकै जिम्मेवार छौँ । बरु प्रणालीले काम गरौँ । कसैलाई पनि कुनै बहानामा घूस नदिने प्रत्रिबद्धता गरौँ । अनियमिततामा प्रश्न उठाऔँ । एक विवेकशील नागरिक हुने प्रण गरौँ । 
अरुको राम्रो पक्षलाई खुलेर प्रशंसा गरौँ र समर्थन गरौँ । नराम्रोलाई सुधार्न प्रेरित गरौँ, अवसर दिऊँ । फेरि पनि एक डाकु रत्नकार वाल्मिकी भएको तथ्य नबिर्सौँ । 
अन्त्यमा तपाइको एक भोटले देशको मुहार फेर्न सक्छ । नयाँ भन्दैमा नबहकिनुहोस् । पुरानो भन्दैमा नडगमगाउनुहोस् । 
के नयाँ, के पुरानो ? सगरमाथा नै हो हामी सबैको छानो । 
जसले जितेपनि छ शान्तिको आशा, गाउँ, शहरमा समृद्धि अनि विकास साझा । 

अब राजनीतिक परिवर्तन पुग्यो । हामी सबै शान्ति, स्थाीयत्व, समृद्धि र विकास चाहन्छौँ । राम्रालाई साथ दिऊँ, हाम्रालाई राम्रा बनाऊँ । यो देश बनाउने सपूतहरुले नै हो । तसर्थ सोचौँ, फेरि सोचौँ, अनि फेरि पनि सोचौँ र राष्ट्रियता, विकास र समृद्धिको सम्भावना बोकेको दल वा गठबन्धनलाई जिताऔँ । सबैलाई शुभकामना । 


No comments:

Post a Comment