Monday, March 27, 2017

अन्ततः उ विवेकी बनेर गयो …


Related image

म क्लास भित्र पसेँ । विद्यार्थीहरुले अभिवादन गरे, “गुड मर्निङग सर” मैले फर्काए, “गुड मर्निङग, हाउ आर यू ?” उनीहरुले सामान्य जवाफ फर्काए, “वी आर फाइन, थ्याङक यु सर” मैले भनेँ डन्ट यु आस्क मी ? उनीहरु “सुयर, हाउ आर यु सर ?” मैले ऊर्जाशील जवाफ दिएँ, जुन मेरो अटो सजेस्सन् थियो “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” त्यसपछि कक्षा सुरु भयो ।
मेरो जवाफ सबैलाई युनिक लागेकै थियो । विद्यार्थीहरुमा के होला ? भनेजस्तो उत्सुकता हुनु स्वभाविक हो । मेरो पहिलो क्लासमै म एकदमै कडा प्रस्तुत भएँ । मेरो रुल नै यो हो कि स्माइलिङ र प्रशन्न मुद्राको मुहारका साथ ढाड सीधा राखेर बस्नु, जहाँ विषयवस्तुमा व्यस्त भएका बेला टाउको हल्लाउने छुटसमेत उनीहरुले पाउँदैनन् मेरो क्लासमा । यो पहिलो दिनको अहिले सम्म अनुभव नगरिएको सिस्टम क्लास ८ का विद्यार्थीहरुलाई पनि अनौठो भयो । जसरी अरु विद्यार्थीहरुलाई लागेको थियो । उनीहरु साँच्चै थर्कमान भए मेरो आवाजले ।
‘विवेक’ एक विद्यार्थी जो पढाइमा क्लास फर्स्ट र अरुको नजरमा रिसाहा, घमन्डी, नकरात्मक सोच र दृष्टिकोण भएको, असामाजिक लाग्थ्यो । मैले प्रष्टै यो सबै उसलाई कैलै भन्न सकिनँ किनकी ऊ एक अद्धितीय सम्भावना बोकेको अरुभन्दा बिलकुलै फरक विद्यार्थी थियो । वास्तवमा उसले मलाई केही दिएर गयो ।
मबाट केही लिएर गयो । हो, प्रत्येक शिक्षकले बुज्नैपर्छ कि सबै विद्यार्थीहरु एकै हुँदैनन् । र उनीहरुको साँचो क्षमतालाई उत्प्रेरित गर्न सक्नु एक सच्चा टिचरको महानता हो । मलाई ति दिनहरुले सधैँ सिकाउँछन् । कि हरेक प्रश्नमा अत्यन्तै सबाल जवाफ गथ्र्यो ऊ । र उसको मनोविज्ञान के बुज्न सकिन्थ्यो भने उसले मेरो केही कुराहरुलाई पनि विश्वास गरेको छैन ।
उसलाई लाग्थ्यो, अन्य केही जीवन, जगत्, मोटिभेसन, सफलता आदि विषयहरुमा मैले गफ मात्रै गरेको हुँ, जसको कुनै विज्ञान छैन । यद्यपि मेरा तर्कहरु सधैँ वैज्ञानिक हुन्थे । कारण गहन अध्ययन, रुचि, एवम् फराकिलो ज्ञानको दायराको धरातलमा उभिएको र सायन्स टिचर नै भएकोले हुन सक्छ । मैले उसको प्रत्येक जिज्ञासामा विज्ञानका प्रमाण, अनुसन्धान जोड्दा मात्रै केही सन्तुष्टि जनाएको आभास हुन्थ्यो ।
प्रत्येक विहानीमा कक्षा प्रवेश गर्दा मसँग एउटा प्रश्न हुन्थ्यो, “हाउ आर यु ?” उनीहरुसँग परम्परागत जवाफ हुन्थ्यो भने मसँग एक अटो सजेस्सन् (आत्म–सुझाव) हुन्थ्यो । “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” हो, यो मेरो सधैँको मन्त्र थियो । उसले नै जिज्ञासा राखेको थियो कि किन “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” भन्ने ? तब मैले भनेको थिएँ, किनकी यो पोजेटिभ शब्दहरु हुन् जसले हामीलाई उत्प्रेरित गर्छ ।
तर यति भन्दैमा उसले यो मान्न तयार भएन । हुन त मैले कहिल्यै कुनै पनि विद्यार्थीलाई जबरजस्ती “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” भन्न लगाइनँ तर केही महिनाको अन्तरालमा कक्षा ८ को पनि विवेक बाहेक सबैले जोडतोडका साथ भन्न थाले । त्यतिमात्र होइन । जसरी नकरात्मक तरङ्गहरु समाजमा वा संसारमा फैलिन्छ । सकारात्मकता पनि जरुर फैलन्छ । सबैलाई स्ट्रङग बनाउन यो सकारात्मकताको सुरुवात मैले स्कुलमा गरेँ, जसको केही महिनामै लगभग सम्पूर्ण क्लासमा गुञ्जिन थाल्यो ।
सबैले एकै स्वरले “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” भन्न थाले, हाउ आर यु को जवाफमा । धेरैले नबुझेर स्वीकारे । सायदै बुझेर कसैले स्वीकारेको होस् । तर विवकले अझै स्वीकारेको थिएन । वास्तवमा कसैले नक्कली हाँसो जोडले हाँस्छ भने वरीपरीका मान्छेहरु पनि हाँस्न थाल्छन् । त्यस्तै कुनै दुःखित घटनाको पीडितको मुहारमा निराशा देख्दा हामी पनि निराश बन्छौँ । यसरी नै कुनै सकारात्मक शब्दहरु जोडतोडले कसैले प्रयोग गर्न सुरुवात गर्छ भने त्यसको पनि फैलावट भएर जान्छ, समय लाग्नु अर्काे कुरा हो तर सञ्चार भएरै छोड्छ । जसरी स्कुलका सयौँ विद्यार्थीहरुले हाउ आर यु ? को उत्तरमा भन्न थालेका थिए कि “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट ।”
तर विवेकको मामलामा यो फरक थियो । अझै उसले स्वीकारीसकेको थिएन, सायद ऊ बढी प्रमाण चाहन्थ्यो यसको फाइदाको विषयमा कतिपय सहकर्मी मित्रहरुले पनि सिकेका थिए सायद बुझरै हो कि । भने कोही सहकर्मीले चाँहि कुनै नयाँ वाक्य पनि प्रयोग गरेर विद्यार्थीलाई भन्न लगाउँदा रैछन् । जसले मलाई धेरै खुशी गराउँथ्यो । किनकी यदि कसैले जानेर नजानेर सकारात्मक ऊर्जा फैलाउने कार्य गर्दछ भने मेरो निम्ती त्यो सधैँ प्रशंसाको पात्र हुनेछ । खयर यो प्रणालीको सुरुवात गर्ने भने मै थिएँ स्कुलमा ।
कुनै दिन मलाई विवेकले प्रश्न गरेको थियो के हुन्छ त ? “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” भनेर ? मैले विस्तृत केही जानकारी दिएँ, “सामान्य रुपले भन्दा तात्विक फरक अनुभव हुँदैन । तर जोडदार इमोसनल्ली भन्दा नाटकीय परिवर्तन ल्याउँछ जिन्दगीमा । यसलाई अटो सज्जेसन् भनिन्छ । मानिसको मस्तिष्कको तीन ओटा अवस्थाहरु हुन्छन् । चेतन, अवचेतन र अति चेतन ।
चेतन भनेको जीवनको सामान्य अवस्था हो भने अति चेतन भनेको बुद्धत्व प्राप्तिको अवस्था हो र अवचेतन भनेको एक विशेष अवस्था हो । जब हामी केही कुरा बडो विश्वासका साथ दोहो¥याउँछौँ तब अवचेतनमा अंकित हुन्छ र समयकोसँगै त्यो वास्तविकतामा परिणत हुन थाल्छ । तिमी साँच्चै नै एक एक्सलेन्ट बन्दै जान्छौ ।” मैले भनेँ, “मलाई विश्वास नगर त्यो तिम्रो अधिकार होला तर मेरा शब्दहरुमा विश्वास गर, त्यो भन्दा बढी आफैँमा धेरै विश्वास गर ।”
यस कुरापछि उसले केही भरोसा गरेको आभान भयो । “फिट, फाइन एन्ड एक्स्लेन्ट” सयौँ विद्यार्थीहरुबाट सुन्दा मलाई धेरै खुशी महसुस हुन्थयो । लाग्थ्यो एउटा सानो सुरुवात ठूलो बन्दैछ । म आफ्नो क्लासमा निकै मेहनत गर्थेँ ताकि उनहिरु आफै इतिहास बन्न सकुन् । तर उनीहरुलाई पोजेटिभ एटिट्युट तिमीहरुको परिचय हुनुपर्छ भन्ने कुरामा सधैँ फोकस गर्थेँ । मेरो विश्वास यो हो कि मानिस सकारात्मक भए भनेँ उनीहरुसँग एक अनौठो ऊर्जा हुन्छ । जुन ऊर्जा अदृश्य रुपमा नै संसारमा फैलन्छ जसले मानिसलाई खुशी बन्न प्रेरित गर्छ । यसको तरङ्गहरुले मानिसहरुलाई सधैँ प्रेरित गर्छ ।
समय बित्यो ऊ कक्षा ९ मा पुग्यो । मैले उसलाई कुनै कुरामा फोर्स गरिनँ । बिस्तारै मेरो पोजेटिभ ऊर्जा, उत्प्रेरित शब्द, विभिन्न रिसर्च आदिले ऊ केही प्रभावित हुँदै गयो । मलाई मनोविज्ञान र दर्शनको पनि ज्ञान भएकाले पनि मैले कसैलाई पनि गाली गर्दिनथेँ बल कि बारम्बार भन्ने गर्थेँ, “यु आर फिट, फाइन एन्ड एक्स्लेन्ट, यु आर ग्रेट ।” हल्ला गर्दा शान्त भएर बस, ज्ञानी बन भन्ने गर्थँे । यो परिपाटी अरुको भन्दा बिलकुलै भिन्न थियो । सायद हुनसक्छ यो भिन्नताले पनि उसलाई मप्रति प्रभावित गरेको होस् ।
म भन्थेँ, “वर्षाैँ देखि मस्तिष्कमा बिझेको नकारात्मक सोचको काँडा झिक्न त्यति सजिलो छैन तर दैनिकको सकारात्मक शब्दको अभ्यासले त्यस प्रक्रियामा ठूलो भूमिका निर्वाह गर्छ ।” यो कति खुशीको कुरा होला कि सम्भवत उसको सबभन्दा बढी घृणा गरेको टिचर म अब उसको द बेस्ट टिचरको लिस्टमा सामेल हुँदैथेँ । यो म किटानको साथ भन्न सक्थेँ । प्रत्येक समयमा अभिवादन गर्नु विभिन्न विषयमा जिज्ञासा राखेर सन्तुष्टिको मुस्कान छर्नु ।
अनि मेरै जसरी “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” भनेर खुशीले प्रत्येक दिन एक विशेष बानीको रुपमा ग्रहण गर्नु अनि अझै धेरै प्रमाणहरु थिए । उनीहरु कक्षा ९ मा हुँदा मैले अन्य विद्यार्थीहरुलाई लिएर नाटक मञ्चन गराउँदा उसको सपोर्ट हुनुले पनि भन्न सक्थेँ कि म प्रतिको सम्मान भाव उसको धेरै बढेको थियो । यहाँ मैले उसको केही नराम्रो गरेकोले मलाई उसले नकारात्मक ढङ्गले सोचेको भन्ने होइन ।
मात्रै यो हो कि समाजले दिएको एक परम्परागत नकारात्मक बन्धनबाट ऊ पनि चोखो रहन सकेको थिएन । म ऊभित्रको त्यो अन्धविश्वासको जालो तोड्न चाहन्थेँ । उसको अन्तरचक्षुमा सम्भावना, सकारात्मकता, आत्मविश्वास, सफलता र खुशीका किरणहरुको दर्शन गराउन चाहन्थेँ ।
यी तीन वर्षहरु मेरो जीवनको पनि महत्वपूर्ण भएर रहे । सायद यी तीन वर्ष विवेकको लागि जीवन परिवर्तनको यात्रा बन्यो । १० कक्षामा सुरुदेखि नै बडो ध्यान दिएर पढाउन थालेँ । सम्भावित प्रश्नहरु सुरुमै अभ्यास गराउन थालेँ । सबैले आफूलाई बनाउँदै लगे । यो मेरो लागि एक कुशल प्रशिक्षक भएको प्रमाण हो । एक सच्चा टिचर भएको अनुभव हो । गएको सरस्वती पूजामा एक कार्यक्रम आयोजना गरिएको थियो ।
जसमा त्यही विवेकले एउटा कविता लेखेको रहेछ । उसले उक्त कविता प्रोग्राममा वाचन ग¥यो । उसले भन्यो, “यो कविता स्पेसियल्ली डेडिकेटेम टु माइ ग्रेटेस्ट टिचर अफ माइ लाइफ एसपी उप्रेती” यो सुन्दा मलाई अतुलनीय खुशी मिलेको थियो कि मैले इतिहास रच्न हैसियत राख्ने धेरै विद्यार्थीलाई त मोटिभेट गरे नै तर एटिट्युड नै खराब भएको भनिएको ‘विवेक’ लाई पनि जीवनमा सकारात्मक बन्न प्रेरित गरेछु ।
यो कति खुशीको कुरा हुन सक्छ एउटा टिचरको लागि जसको निम्ती विद्यार्थीले भक्ति भावले कविता लेख्छ । कविताको शीर्षक थियो “थ्याङक यु फर न्यु लाइफ” र जसको सार थियो कि मेरो मोटिभेसन, शब्द र डेडिकेसन्ले उसमा आमूल परिवर्तन आएको र त्यसको निम्ती मलाई आभार प्रकट गरेको थियो ।
त्यसैगरी केही समय अगाडि तिहारको कार्यक्रममा उसलाई नै टिचरको विशेष भूमिकामा राखेर एक सचेतनात्मक नाटक मञ्चन गराएको थिएँ । जुन सबैमा प्रिय बन्यो । अब ऊ साँच्चै आफ्नो नाम बन्दै थियो ‘विवेक’ । म भन्थेँ जिन्दगीमा बाढी आउँछ, त्यसमा हामी घोलिन थाल्यौँ भने बगाएर लान्छ, त्यसकाराण पलपलमा सचेत हुनु आवश्यक छ । मैले उसले मेरो निम्ती लेखेको कविता सुनेदेखि पूर्ण विश्वास भयो कि आज ऊ म र मेरो ज्ञानप्रति कति पोजेटिभ छ । मेरो लागि पनि ऊ एक ऐतिहासिक विद्यार्थी बन्यो ।
आज ऊ एस. एल. सी. वा एस्. इ. इ. परीक्षाको लागि तयार छ । आज उसको स्कुलको अन्तिम दिन । विवेक बडो क्रिएटिभ पनि थियो । मेरो अटो सज्जेसन् कै सिको गर्दै करिब एक डेढ वर्षपछि उसले आफ्नै स्लोगान बनाएको थियो, जुन निकै गजबको थियो । यो सुनेपछि मैले भनेको थिएँ कि यु आर सो क्रिएटिभ, यो जरुरी छैन कि “आइ एम फिट, फाइन एन्ड एक्स्लेन्ट” नै भन तर म चाहन्छु हरदम केही पोजेटिभ शब्दहरुलाई तिमी दैनिक रुपमा जीवनमा राख, जुन तिम्रो प्रत्येक चुनौतीमा साहस बन्नेछ ।
यसरी मैले सिस्टम बसाएको थिएँ । तर आजको दिन अर्कै बन्यो । जसले मेरो हृदय पुलकित भयो । कक्षामा सबैको केही फरक किसिमको अभिवादन थियो । गुड मर्निङग सर, मैले भनेँ, “ए फ्रेस गुड मर्निङग माइ डियर, हाउ आर यु ?” सबैले एनर्जीटिकल्ली भने, “वी आर फिट, फाइन एन्ड एक्स्लेन्ट एन्ड ह्वट अबाउट यु सर ?” वास्तवमा त्यो आवाजमा ठूलो र प्रष्ट आवाज उही विवेक कै थियो । आज मैले उसको मुखबाट एकदम भक्तिभावले यो धेरै समयपछि सुनेको थिएँ । यसले झन् प्रष्ट बनायो कि उसले मेरा सम्पूर्ण सकारात्मक विचाहरु सम्मानका साथ खुशीले ग्रहण गरेको छ ।
मैले आजको दिनमा केही शब्दहरु भनेँ, “लगभग तिमीहरुको जीवनको अत्यन्तै महत्वपूर्ण १० देखि १३ वर्ष तिमीहरुले लगानी ग¥यौ बद्लामा अबको परीक्षाको नतिजा तिमीहरुको फल हो । परीक्षा जस्तो होस् वा रिजल्ट जस्तो आओस् याद राख तिम्रो जीवन बाँकी हुनेछ । तिम्रो महान् सपना बाँकी हुनेछ । वास्तवमा तिमीहरु इतिहास रच्नेछौ । महान बन्नेछौ । तिमीहरुको जीवनको ऐतिहासिक सफलताको जीवन डायरीमा मलाई राख्न सक्नेछौ । म हरदम सहयोग गर्न चाहन्छु । त्यो ऐतिहासिक दिनको लागि म शुभकामना व्यक्त गर्दछु ।
म तिमीहरुलाई कहिल्यै कराउने छैन, सजाय दिने छैन । अब प्रत्येक बिहानीले तिमीलाई चमत्कारका लागि तयार गराउनेछ । प्रत्येक पलमा आफूलाई महान् ठान । सबैभन्दा महत्वपूर्ण कुरा हरदम आफ्नो असिमीत क्षमतामा पूर्ण भरोसा गर । इन फ्याक्ट यु अल आर ग्रेट, फिट, फाइन एन्ड एक्स्लेन्ट” मेरा शब्दहरुमा प्राय सबैको आँखामा टिलपिल आँसु भयो । सबै भावुक हुँदै प्रेमपूर्ण स्वरले भने, “थ्याङक यु सो मच फर एव्रिथिङग ।”
आज म लेख्दैछु । ति सबै विद्यर्थीहरु मेरा निम्ती पनि अनमोल छन् । उनीहरु विशेष रत्न हुन् यो देशका लागि । विश्वका लागि । हृदयदेखि नै भन्न मन लाग्यो ऊ विवेकी बन्यो, सकारात्मक बन्यो । अब ऊ आफ्नो एस. एल. सी वा एस. इ. इ. परीक्षमा सम्मिलित हुँदैछ । भरोसा छ सबैले धेरै राम्रो गर्नेछन् । अब उनीहरु जीवनको नयाँ पाना पल्टाउन अघिसरेका छन् । म चाहन्छु प्रत्येक पानाहरुमा उनीहरुको हातले आफ्नो कर्मको इतिहास लेख्न सकोस् । विवेक पनि आफ्नो जीवनको पानामा लेख्न तयार छ । मलाई गर्व छ कि ऊ “विवेक” बन्यो । म फेरि भन्न चाहन्छु, साँच्चै अन्ततः उ विवेकी बनेर गयो …

No comments:

Post a Comment