Saturday, August 26, 2017

जीवन जिउने कला

                                                    


                                                         जीवन जिउने कला...

जीवन एक यथार्थरुपी नाटक हो । जहाँ हामी सबै नायक नायिकाको भूमिका निर्वाह गर्छाैँ । पर्दामा देखिने नाटकमा झैँ जीवनमा उतावचढावहरु आउनु स्वभाविक हो । त्यसलाई कसरी लिन्छौँ, कसरी परिभाषित गर्छाैँ, लगायत कुराले हाम्रो जीवनको गति निर्धारण गर्छ । जीवन कसैलाई सिकाउन, पढाउन सकिन्न । तर जीवनका प्रणालीहरु सिक्न र सिकाउन सकिन्छ । जसरी हामी गिटार बजाउन सिक्न सक्छौँ, त्यसरी नै हामी जीवनका कतिपय आयामहरु सिक्न सक्छौँ । जीवन एक कला हो । कुनै पनि कलामा पोक्त र निपुण हुन ज्ञानलाई व्यवहारमा लागू गर्ने, निरन्तरताको प्रतिबद्धता, धैर्य रहने साहस, आशावादी लक्षण लगायत गुणहरु हामीमा हुन आवश्यक छ । हाम्रो भोगाइमा वास्तवमा बाँच्ने र हाँस्ने कलाहरु हुन्छन् । जसलाई हामी हाम्रो तवरबाट तिखार्न, निखार्न सक्छौँ ।
जीवन बाँच्नुको अर्थ यो होइन कि हामी जन्म्यौँ अनि जे छ चुपचाप स्वीकार गरौँ बल कि बाँच्नुको अर्थ हो जीवनसँग सक्रिय सहभागिता जनाउनु । हरेक अवस्थालाई अङ्गाल्न सक्नु कार्यलाई कलात्मक, सृजनशील बनाउन सक्नु पनि कला नै हो । अनि कार्यहरुको परिणामप्रति गर्व महसुस गर्नु पनि जीवन जिउने कलामा पर्दछ । हाम्रो सचेतनाले कलाहरुको क्षमता वृद्धि गर्न सक्छ, यद्यपि थाहै नपाइ पनि दैनिक जीवनमा कलाहरु (प्रणालीहरु) देखा पर्दछन् । यसको यर्थ के हो भने जस्तोसुकै अवस्थालाई पनि पर्गेल्ने क्षमता तपाइ हामी नै प्रस्तुत गर्न सक्छौँ । जुन हाम्रो चेतना भन्दा बाहिर भएकै किन नहोस् ।
यस महिनाको यो लेखमा नयाँ वर्षको सुरुवात सँगै जीवनलाई अझै चुस्त, दुरुस्त बनाउन सहयोग पु¥याउने प्रविधिहरु प्रकाशित छन् । तपाईले नजानेरै कतिपय जीवनका महत्वपूर्ण कलाहरु बानीको रुपमा विकास गरिरहेको भएतापनि यस लेखको उद्देश्य भनेको सचेत भएरै जीवन जिउने कलाहरु सिकाउनु हो । तर यो बुझौँ कि एउटा लेखले जीवनको सबै कुरा समेट्न सक्दैन । म चाहन्छु कि तपाइ जीवनलाई आजदेखि समुन्नत बनाउन थोरै समय ज्ञानको निम्ति लगानी गर्नुहोस् । याद राख्नुस् कि जीवन केवल अस्तित्व भन्दा धेरै ठूलो कुरा हो । यस तथ्यलाई मनन गर्नुस् कि हामी वास्तवमै विशेष छौँ । हेनरी डेभिड थोरेले भनेका छन्, “कुनै कुराहरु बद्लिदैनन् बल कि हामी बद्लिन्छौँ ।” प्रत्येक बानीहरुले हामीलाई परिवर्तनको महसुस गराइरहेका हुन्छन् । हामीले कुनै घटना, वस्तु आदिप्रति हेर्ने दृष्टिकोणले बद्लाबको स्थिति सृजना गर्छ तर घटना उही हो, वस्तु पनि तिनै हुन् यद्यपि हामी भिन्नै महसुस गर्छाैँ । सकारात्मक बन्छौँ किनकी हामी परिवर्तित मानसिकतामा अडिएका हुन्छौँ । त्यसकारण कसले, कहिले, कहाँ, आफ्नो लागि के ग¥यो होइन बरु आफैँले समयक्रमसँगै जीवन जिउने कलाहरुसँग साक्षात्कार गरेर इच्छित जीवनतर्फ पाइला अघि बढाऔँ । हुन सक्छ तपाइको यो सुरुवात ऐतिहासिक होस् । किनकी आजकै दिनमा कतिले यो संसारमा इतिहास रच्दैछन्, सोच्नुस् कि किन हामी चाँहि त्यो अवसरको सदुपयोग नगर्ने ?
आउनुहोस् आजैदेखि हाम्रो जीवनको दिशामा फरक ढङ्गले पाइला बढाउन जिउने कलाहरुमा गौर गरौँ । म चाहन्छु तपाइले कल्पना गर्नुभएको जीवनको सुरुवात आजै बनोस् । यो आफैमा निकै गम्भिर प्रसंगलाई सारांशका रुपमा विभिन्न अनुसन्धानका निष्कर्ष कोलोम्बिाया विश्वविद्यालयका मनोवैज्ञानिक परामर्शदाता तथा प्रोफेसर डानियल टोमासुलोका अनुसार जीवनका केही प्रणालीहरु संक्षेपिकरण गर्न सकिन्छ, जुन निम्नलिखित छन् । उल्लेखित बुँदाहरुले लगभग सबै समेट्छ ।

१. परिवर्तनलाई समय लाग्छः अक्सर हामीले यो अनुभव गर्न जरुरी छ कि जीवनमा कुनै पनि कुरा परिवर्तनको लागि निश्चित समय लाग्दछ । त्यस्तो केही छैन जुन रातारात बद्लिियोस् । सोच्नुस् कि एउटा सिसाको बकेट छ जसलाई जीवन भन्न सकिन्छ जहाँ विभिन्न रङहरु समावेश गर्न सकिन्छ । त्यस बाल्टिनको रंगीन नजर भनेको हाम्रो जीवनको सोच, अनुभव आदि कुराहरुको प्रतिनिधित्व हो । वास्तवमा यदि त्यहाँ पानी छ र त्यसलाई रंगीन बनाउनु प¥यो भने समय लाग्छ । एक थोपा रंगीन घोल मिसाउँदैमा पूर्ण रुपमा रंग बद्लिँदैन, ठीक त्यसैगरी थोरै र सानो प्रयासले मात्रै जीवनको खराब विचार र अनुभवको रंग बद्लिँदैन तसर्थ निरन्तर सकारात्मकता थप्दै जानुपर्छ, जसको परिणाम निस्कन समय जरुर लाग्छ ।
२. परिवर्तन स्वीकार्नुस्ः हामी परिवर्तनबाट पर भाग्न खोज्छौँ, तर याद राख्नुस् रुपान्तरण एक स्वभाविक र प्राकृतिक पक्रिया पनि हो । यसर्थ खुशीले स्वीकार्नुस् । जस्तो जब तपाई शारिरिक व्यायाम गर्न थाल्नुहुन्छ तब शरीरमा पीडा हुन्छ । तर तपाइले धैर्य भएर सहनुभयो भने पछि राम्रो अनुभव गर्नुहुनेछ ।
३. अन्ततः बद्लिनुस्ः र अब अर्काे चरणको थालनी हुन्छ कि विभिन्न अवस्थाहरुमा तपाईले सकारात्मक परिवर्तनको लक्षणहरु पाउनुहुनेछ । जीवनको एक गजबको प्राकृतिक नियम छ । त्यो के भने कुनै एक तिरको ढोका बन्द भयो भने अर्काेतिर खुल्नेछ । केवल आफूलाई बद्लेर तयार राख्नुस् । बाँकि दिनहरु खुशीले बित्नेछन् ।
यी कलाहरुले तपाइको सबै क्षेत्रको साझा प्रतिनिधित्व गर्छ । कुनै पनि मामलामा यी नियमहरु लागु हुन्छन् जसले तपाइको निरन्तर विकासमा सहयोग गर्नेछन् । नयाँ सालसँगै तपाइको जिन्दगीको सम्पूर्ण हाल बद्लिियोस् । सबैलाई शुभकामना ।
  एसपी उप्रेती
मोटिभेसनल स्पीकर


No comments:

Post a Comment