जसरी प्रेम एक शक्तिशाली भावना हो । त्यसरी नै खुशी एक ऊर्जा प्रदायक मानवीय संवेग हो । मानिसले गर्ने आफ्नो कार्यहरुको अन्तिम उद्देश्य नै खुशी प्राप्त गर्नु हो । आफूले त्यो सकारात्मक प्रवाहलाई महसुस गर्नु अनि अरुलाई पनि त्यसको हकदार बन्न सघाउनु खुशी हो । एक महापुरुषले भनेका थिए– तिमी हाँस्यौ भने संसार हाँस्नेछ तर यदि तिमी रुन्छौ भने एक्लै रुनुपर्नेछ । हो निश्चय पनि हामी आफू खुशी हुन सक्छौँ भने मात्रै अरुलाई हँसाउन सक्छौँ । हामीले कसरी त्यो विशेष खुशी नियमितरुपमा अनुभव गर्न सक्छौँ भन्ने चर्चाभन्दा अघि जीवनको सशक्तिकरण अनि सफलतासँग यो संवेगको अन्तरसम्बन्धबारे थोरै लेखौँ ।
हामीले सफलतालाई परिभाषित गरिरहँदा सामान्यतया दुई किसिमको सफलता अगाडि आउँछन् । एउटा भौतिक सफलता र अर्काे अध्यात्मिक सफलता । यी दुवैको उचित सन्तुलन अनि सदुपयोगले जीवनको वास्तविक सफलताको परिचय दिन्छ । नाम, दाम, पद, प्रतिष्ठा, सम्पत्ति आदिको उपलब्धी, भौतिक सुख सुविधा वा सफलता अन्तर्गत पर्दछन् । माया, प्रेम, खुशी, आनन्द, सम्बन्ध, सन्तुष्टि, मानवता आदि अध्यात्मिक सफलतामा गनिन्छन् । भौतिक सफलता प्राप्तिका लागि बाहिरी संसारमा फरक सोच, विचारलगायत आफ्ना सम्पूर्ण क्षमताको प्रयोग गर्दै, व्यक्तित्व विकास गर्दै संघर्ष गर्नुपर्छ भने अध्यात्मिक सफलताको पाटो बेग्लै छ । यी दुवै क्षेत्रको आ–आफ्नै र एकदमै फराकिलो दायरा छ अनि प्रभाव पनि ।
यस आलेखमा केवल अध्यात्मिक पाटो ‘खुशी’ को विषयमा चर्चा गर्ने प्रयत्न हुनेछ । जीवनको प्रत्येक पाइलामा जुनसुकै किसिमको उपलब्धी हासिल गर्नको निम्ति हामीले हृदयदेखि नै खुशी एवम् प्रफुल्लित हुन किन आवश्यक छ ? अनि त्यो खुशीको महसुसले हाम्रो दैनिक कार्य सम्पादनमा कसरी सकारात्मक भूमिका निर्वाह गर्दछ ? र, कसरी खुशी प्राप्त गर्ने भन्ने अनुभवजन्य र व्यवहारिक ज्ञान यो आलेखमार्फत् दिने चेष्टा गरिनेछ ।
एकपटक हामीले आँखा चिम्लेर सम्झिने कोसिस गरौँ कि हाम्रो बालापन कसरी बित्यो ? हामी जन्मँदै न कोही अरबपति थियौँ न त गरीब नै । त्यो परिवार जहाँ कुनै बच्चा जन्मिन्छ, त्यो परिवारको आर्थिक अवस्थाहरुकै आधारमा त्यो बच्चाको वर्ग निर्धारण गरिन्छ । कुनै राज घरानामा जन्मिए राजकुमार कहलिने अनि कुनै सामान्य परिवारमा जन्मिए आम मानिस । राजकुमार बन्न न त उसको कुनै प्रत्यक्ष कर्म थियो न एक सामान्य बन्न । के कोही जन्मनु उसको आफ्नै कारणले हो र ? पक्का पनि होइन । हो, सामान्य रुपमा हामीले हेर्दा विश्लेषण गर्दा, हाम्रो अनुभवलाई केलाउँदा हामी कुन निष्कर्षमा अडिग रहन पुग्छौँ भने कुनै पनि बच्चा वा मानिस जन्मिँदा न गरीब हुन्छ न त धनाढ्य । केवल परिवारको अवस्थाले त्यो चिनारी प्रदान गरिदिन्छ । ऊ कतिको भौतिकरुपमा सुखी छ, छैन भन्ने कुरा एक ठाउँमा रहला । तर कुनै पनि बच्चा अध्यात्मिक रुपमा धेरै नै सुखी अनि खुशी हुन्छ ।
बच्चा रुनुको कारण उसको शारीरिक आवश्यकताहरु परिपूर्ति गर्ने माध्यम हो । वास्तवमा बच्चाहरु प्रायःजसो खुशी रहन्छन्, बेलाबेलै हाँस्छन् । सानो सानो कुरामा पिनि धेरै खुशीको अनुभव गर्छन् । खासमा तपाईं अनि मैले पनि यी अवस्थाहरु पार गरेरै आएका हौँ । हामीले सम्झौँ । हामीलाई त्यो बेला खुशी बन्नको लागि कुनै ठूलो कारण चाहिँदैनथ्यो । हामी कारण बिना नै पनि खुशी बन्न सक्थ्यौँ । हामी कतै बाँधिएका थिएनौ त्यो बेला, कुनै जटिलतामा अड्किएका थिएनौ, बुबा आमा र घर परिवार नै सबैभन्दा ठूलो संसार थियो हाम्रो लागि त्यो अवस्थामा, रतिभर तनाव थिएन । सबै कुरा टाढा थिए हाम्रो लागि तर खुशी, आनन्द र सन्तुष्टि हाम्रो साथमा थिए । त्यसैले हामीले खुलेर स्वतन्त्रताको अनुभवका साथ बालापन बितायौँ ।
बालापन कस्तो रह्यो भनी कसैलाई सोध्यो भने जवाफ आउँछ मेरो बालापन त थाहै नपाइ बित्यो । किनकी त्यो बेला लगभग सबैले नै चैनले बाँचेका हुन्छन् । जसले गर्दा समय बितेको पत्तै हुँदैन । साँच्चै मनोरम खुशीका पलहरु संगालेका हुन्छन् त्यो बेलामा मान्छेले । अब मेरो प्रश्न खोइ कहाँ गयो त्यो खुशी ? त्यो जिन्दगी ? कहाँ छोडियो त्यो जिन्दगी ? किन छोडियो ? एकचोटि फर्केर हेर्नुस त ।
हाम्रो उमेर बढ्दै गयो । पढ्दै गयौँ, जिम्मेवारी बढ्दै गयो, काम गर्न थाल्यौँ । तर पनि मनमा केहीको खोजी हुने गथ्र्यो, त्यो खुशी अनि सुखको खोजी थियो । तर हामी जतिजति खोज्दै जान्थ्यौँ त्यति त्यति हामीेले खुशी गुमाउँदै गयौँ । जीवनबाट प्रफुल्लता गुम्दै गयो । हाम्रो परिपक्कता सँगसँगै हामीभित्रकै त्यो खुशी टाढा हुन थाल्यो । हामीले गरेका प्रत्येक कार्यबाट खुशी प्राप्त गर्ने आशा राख्यौँ तर हाम्रो आशा यथार्थमा परिणत हुन सकेन ।
हामी कहाँ गयौँ त ? हामी विवाहित भयौँ होला ! सन्तान भए होलान् ! अनि हाम्रो आशा भयो कि अब त मेरो खुशी हुने दिन आउला । तर अहँ कहिल्यै आएन त्यो दिन, बरु अझ पर सर्दै गयो । त्यस्तै विभिन्न समस्याले गाँज्दा बोतलमा खुशी खोज्न थालियो । कैयौँ बोतलहरु रित्तिए, सयौँ साथीहरु रिजिए होलान् तर खुशी रिज्न सकेन । किन ? खुशीका लहरहरु झन् सेलाउँदै गए । हेर्दाहेर्दै आफैँबाट अपरिचित अनि पराई भए ।
भन्नुपर्दा, हाम्रो जीवनमा एउटा यस्तो अवस्था पनि आयो कि, म कुनै बेला हाँस्थे पनि है ! हो, हामीले हाँस्न बिर्सिसक्यौँ, बाँच्न बिर्सिसक्यौँ । ऐना हेर्दा शङ्का लाग्न सक्छ कि के म त्यही मान्छे हुँ ? यो मलिन अनि निराशाले भरिएको अनुहा्र त मैले जन्मिँदा ल्याएकै थिइँन । किन अनि कसरी लुटियो मेरो खुशी ? सोधौँ आफैँलाई । हामीले हरेक तरहले अघि बढ्दा हामीले सोच्ने गथ्र्याैँ कि कुनै दिन त यस्तो दिन आउनेछ र म धेरै खुशी महसुस गर्नेछु । कैयौँ दिन, महिना, वर्ष बितेछन् तर त्यो हामीले कल्पना गरेको दिन अहिलेसम्म आएन । हामी अझै दलदलमा फँस्दै गयौँ । किन यस्तो भयो त ?
एउटा आम जवाफ हो कि तपाईं हामीले हाँस्न बिर्सिसक्यौँ । खुशी हुनै बिर्सिसक्यौँ । अब हामी आफू ब्यूँझने बेला हो । ब्यूँझिन जरुरी छ । तपाईं हामी ब्यूँझेर त्यो आफैँभित्र रहेको खुशी बनाउने त्यो तत्व, गुणलाई झक्झक्याउन जरुरी छ । हामीलाइ खुशी हुन प्रेरित गर्ने आफैँभित्रको त्यो मूल मुहान वा स्रोत अथवा खुशी प्रदान गर्ने त्यो खजनालाई ब्यूँझाउन जरुरी छ । हामीले भौतिक रुपमा पनि हिजोभन्दा आज राम्रो छलाङ मारेका छौँ । यद्यपि खुशीले त्यसरी छलाङ मार्न सकेन हाम्रो जीवनमा । हामीले पदार्थमा खुशी खोज्ने गल्ती गर्दैछौँ । जबकि पद तथा पदार्थमा त क्षणिक खुशी मात्रै हामी प्राप्त गर्न सक्छौँ, दीर्घकालीन होइन । अहिलेको विज्ञान र प्रविधि, मानवीय र प्राकृतिक खुशी बढाउने साधन बन्न जरुरी छ न कि मानसिक समस्या निम्त्याउने कारण ।
खुशी प्राप्त गर्ने बहानामा मानिसहरु अपराधी भएका पनि देखेका छौँ । त्यस्तै मानिस धेरै धनाढ्य पनि बनेका छन् । अनि सन्यासी पनि, एउटा दीर्घकालीन खुशीको खोजीमा । यसैका लागि मानिस पूर्ण भौतिकवादी बनेका पनि देखेका छौँ । अनि यसैका लागि अध्यात्मिक बनेका पनि । वास्तवमै खुशी के हो ? कसरी प्राप्त गर्न सकिन्छ ? एक अर्थमा यो केही पनि होइन अनि अर्काे अर्थमा यो सबथोक हो । जे होस्, हामीलाई विभिन्न अनुभवहरुले प्रमाणित गरिदिएको छ कि खुशीको मुहानलाई जगाउनको निम्ति अध्यात्मिक र आत्मिक विकास जरुरी छ । जो न त अरुसँग मागेर पाइन्छ न कुनै बाहिरी संसारमा नै । कुनै बेला कि विश्वविख्यात नायिका मर्लिन मुन्रोले आत्महत्या गरेकी थिइन् । त्यस्तै साहित्यमा नोवेल पुरस्कार विजेता अर्नेस्ट हेमिङ्गवे, हलिवुड कलाकार कर्ड कोभनले पनि आफ्नो ज्यानलाई आहुती दिएका थिए । केही वर्ष अघि मात्रै बलिवुड नायिका जिया खान अनि नेपालका कलाकार आलोक नेम्बाङले जीवनलाई कहिल्यै नफर्कने ठाउँमा घचेडेका थिए । किन होला ? उनीहरुको नाम, दाम लगभग सबै थियो तर मनमा शान्ति, अमन चैन र खुशी थिएन । त्यसकारण खुशी श्रीसम्पत्तिको साथसाथै स्वअभ्यासले मात्रै प्राप्त हुन्छ । र, सम्पत्ति भएमा मात्रै खुशी हुन सकिन्छ भन्ने भ्रम भने चिर्न जरुरी छ ।
महामानव गौतम बुद्धले भनेका छन् दुःखको मूल कारण नै इच्छा हो । त्यसोभए के इच्छा नै नगर्ने त ? लक्ष्य नै नबाउने त ? त्यसो होइन ठूलो इच्छा राख्ने फलको आशा नगर्ने तर निरन्तर कर्म जारी राख्ने यो सदियौँदेखिको यथार्थ हो र आज पनि उतिकै अपरिहार्य छ । हाम्रो जीवनमा खुशी हुनु र नहुनुले के फरक पार्छ ? यदि हामी खुशीले कुनै पनि काम गर्छाैँ भने त्यसको परिणाम सुखद हुन्छ । हाम्रा सम्बन्धहरु राम्रा हुन्छन्, हामी स्वस्थ रहन्छौँ, अन्तत हामी जीवनमा सफल हुन्छौँ ।
हामीले स्कुल पढ्यौँ, कलेज, युनिभर्सिटी पढ्यौँ । बाहिरका पढ्नु पर्ने नपर्ने सबै पढ्यौँ । तर आफूलाई पढ्न भुल्यौँ, आफैलाई मनन गरेनौं । माछा मार्न मरुभूमिमा गए झैँ भयौँ हामी । जबकि खुशी हुन हामी आफैभित्रका सकारात्मक मस्तिष्क रसायनहरु सेरोटोनिन, डोपामाइन, एन्डरफिन्स आदि सक्रिय हुन जरुरी छ । जसका लागि हामीले जति पनि बाहिरी अध्ययन गरियो अब आफैंलाई समय दिन आवश्यक भएको छ । कम्तीमा आफ्नो लागि दिनको एक घण्टा समय छुट्याउँ । किनकी तपाइको अन्तरयात्राको लागि यो संसारमा दोस्रो कोही मान्छे छैन सिवाय तपाईं । त्यसकारण यसलाई मनन र महसुस गर्नुस्, फेरि त्यही खुशीले तपाइँको जीवनलाई अङ्गाल्नेछ । तपाईं र म ब्यूँझनु छ अनि हामीलाई खुशी प्रदान गर्ने त्यो मूल स्रोत अझ भनौँ आफैभित्रको त्यो खुशीको खजाना लाई पनि ब्यूँझाउनु छ । संसारकै सबैभन्दा खुशी मान्छे भनेर प्रमाणित एक बौद्ध भिक्षु माथिउ रिकार्ड खुशीको परिभाषामा भन्छन्ः खुशी एक आदत हो, बानी हो । हामी सामान्यतया बहाना खोज्छौ खुशी हुन, आजदेखि बहाना होइन बानी बनाऊ ।
यहाँ खुशी बन्ने पाँचवटा अनुभवजन्य टिप्सहरु प्रस्तुत गर्दछु । खुशी हुने केही मूलमून्त्र जीवनमा उतार्नुहोस् र आन्तरिक विकासमा छलाङ मार्नुहोस्, सबैलाई शुभकामना ।
- गुमाएका भन्दा पाएका उपलब्धिहरुमा ध्यान दिऊँ ।
- आफ्नो क्षमता र सीपमा ध्यान दिऊँ न कि कमजोरीमा ।
- दिनको कम्तीमा १५ मिनेट खुशीका विचारहरु बारे सोच्ने गरौँ ।
- नियमित अभ्यास योगा, प्राणायम र ध्यान गरौँ ।
- पुस्तक पढ्ने, डायरी लेख्ने, गीत संगीत सुन्ने वा अन्य केही रुचिमा कर्म गर्ने गरौं ।