के तपाई जीवनमा असफल हुनुभएको छ ? समयको अन्तरालसँगै जीवनमा सानातिना असफलता हामी सबैले झेल्ने गर्छौँ । भनिन्छ, खस्नु असफलता होइन उठ्न नखोज्नु असफलता हो । एउटा असफलताले तत्कालमा केही महत्व नराख्ला यद्यपि जीवनकै मामलामा भने त्यो गजबको सिकाई र आउँदा क्षणहरुमा नयाँ माध्यमहरु बन्न सक्छन् । विगतका भूलको पाठले वर्तमानमा फूल फूलाउन सक्छन् । हाम्रो यो लेखको उद्देश्य भनेको जीवनका हरेक अवस्थाबाट सिक्न प्रेरित गर्नु हो । ज्यादातर मानिसहरु आफ्नो जीवनमा प्राप्त सानो असफलताले निकै लामो समय सम्म पीडित भएका पनि हुन्छन् । समस्याको निराकरण गर्न नसक्नु एक किसिमको असफलता हो । त्यस किसिमको अनुभवले नयाँ विचार र सम्भावना खोज्न प्रेरित गर्दछ । एकै गल्ती बारम्बार गर्नु कि त त्यसबाट नसिक्नु हो कि त उपेक्षा गर्नु हो । मतलब एउटै गल्ती गरिरहनु वृद्धि होइन । तर कुनै पनि गल्तीबाट सिक्नु चाँहि एउटा प्रणालीको विकास हो । फरक कोसिस गर्दैमा सधैँ सफल भइहालिन्छ भन्ने होइन, तर त्यो प्रयासले नयाँ तौरतरिकाको विकास जरुर गर्छ । जसमा सफलता प्रदान गर्ने कला लुकेको हुन्छ ।
जर्नल अफ एप्लाइड साइकोलोजीमा प्रकाशित अमेरिकन आर्मीहरुमा गरिएको अनुसन्धान लगायत निष्कर्ष यहाँ प्रस्तुत छ । जस्तो कि कुनै तालिम वा काममा सफल भएको क्षण र असफल भएको अवस्थामा केन्द्रित रहँदा यी दुवै अवस्थामा उनीहरुले बढी सिकेको पाइएको थियो । जो सिकाइ समान्य अवस्थामा भन्दा धेरै फाइदाजनक देखिएको थियो । उनीहरुले कुनै काममा सफल हुन् वा असफल केही प्रयोगात्मक सिकाइ भएको उक्त अध्ययनले बताएको छ । यस अनुसन्धानलाई हार्वड रिभ्युले के इङिगत गरेको छ भने विभिन्न कम्पनीहरुलाई के सिकियो भन्ने कुरामा ध्यान केन्द्रित गर्न समय हुँदैन बरु त्यही एउटै गल्ती बार बार गर्न भने उद्यत हुन्छन् । तर त्यो ठोस उपलब्धि होइन । ठीक त्यसैगरी जीवनका आरोह अवरोहलाई हामी लिन सक्छौँ कि हाम्रो खराब परिस्थिति र समयले पनि हामीलाई स्थितिहरुसँग लड्न मजबुत बनाइरहेको हुन्छ ।
यही विषयमा एक सनसनीपूर्ण अनुसन्धान भयो जहाँ अन्तराष्ट्रिय अनुसन्धानकर्ताहरु र साउथ क्यालिफोर्निया युनिभर्सिटीले गरेको खोजमा मस्तिष्कको एम आर आइ गरेर असफलता बाट मस्तिष्कले कसरी आफूलाई बलियो पार्छ भन्ने थियो । जस्तो यदि हाम्रो मस्तिष्कले असफलताबाट सिक्ने अवसर वा तालिम पाएमा जीवनमा खराब लाग्ने अनुभवहरुले सकारात्मक अनुभव विकास गर्न सक्छ ।
वास्तवमा असफलता मानसिको एक गुरु हो । यो ब्रेन स्क्यानिङगको निष्कर्ष हो । अन्तराष्ट्रिय अनुसन्धानकर्ताहरुको अध्ययन अनुसार मस्तिष्कले दुई किसिमले सिकाइलाई स्थायी अनुभवमा बदल्छ । एक उपेक्षित (नकारात्मक) किसिमको प्रणाली जस्तो कि सजाय पाउने डरले गल्ती नदोहो¥याउनु अर्काे चाँहि पुरस्कृत (सकारात्मक) किसिमको प्रणाली जस्तो कि पहिले गरेको कामबाट प्रशंसा प्राप्त गरेकोले त्यस्तै राम्रो गर्ने उत्पे्ररणा जाग्नु । लगभग २६ वर्ष उमेर समूहका २८ जना सहभागीहरुलाई चुनौतीपूर्ण प्रश्न राखिएको थियो । पहिले उपेक्षित सिकाई अन्तर्गत उनीहरुले गलत उत्तर दिए रकम हार्ने र सही दिए जित्ने । दोस्रो पटक भने रिवार्ड बेस्ड सिकाई अन्तर्गत उनीहरुको मस्तिष्कले सकारात्मक प्रतिक्रिया दिइएको पाइयो । त्यसैगरी यस अध्ययनको निष्कर्षमा चाहि के पाइयो भने यदि कुनै कार्यमा भएको असफलताले हामीमा पश्चाताप भयो भने भविष्यको कार्य सम्पादनका लागि व्यवहार परिवर्तन हुने देखियो ।
यसको अर्थ के भने हामी चुक्नु स्वभाविक हो । गल्ती नगर्नेले केही सिक्दैन । तर यसो भनिरहँदा जानी जानी केही नराम्रो गरेर सिकिहालिन्छ नि भन्ने सोच्नु बुद्धिमानी होइन । अर्थात सिक्नकै लागि जानीजानी गल्ती गर्ने होइन बल कि केही राम्रो काम गर्दा पनि असफल भइएमा त्यसबाट आउँदा दिनमा सचेत बन्ने कला सिकौँ वा सिक्न सकिन्छ भन्ने हो ।
जीवनमा गल्तीले रुपान्तरित यथार्थ निर्माण गर्न सक्छ । कसैको जागिर छुट्नुले केही कमी भएको पूर्ति गर्न हौसला दिन सक्छ, साथै नयाँ गजबको अवसर पनि । गौतम बुद्धले घर छोड्नु गल्ती थियो होला तर त्यसको प्राप्तिको कुनै सीमा छैन । प्रत्येक किसिमको अवस्थामा हामी तयार रहनुपर्छ । प्रक्रियागत चरणमा प्राप्त असफलताले हामीलाई परिणाम स्वीकार्न बलियो बनाउँछ । जे परिणाम आउँछ त्यसलाई झेल्ने आँटले जो कोहीलाई सफलता तर्फ उन्मुख गराउँछ । जीवनमा चुनौती पक्का पनि हुन्छन् । तर हाम्रो प्रयास भनेको जीवन नै चुनौती बन्नबाट जोगाउनु हो । जसका लागि हरेक संघर्षको परिणामलाई सहज भएर स्वीकार्न सक्नुपर्छ । खुशीले जिउने कलामध्ये यो प्रणाली एउटा हो । जसलाई सबैले बुझेर आगामी दिनहरु सरल, खुशी र स्वतन्त्र बनाऔँ । याद राखौँ, बाँच्नु महानता हो । असफलतामा समेत आफूलाई मजबुत बनाएर बाँच्नु महानताको उदाहरण हो । एक अनुकरणीय जीवनको अनुशरण गर्ने क्षमता हामीमा उजागार होस् । सबैलाई शुभकामना ।
No comments:
Post a Comment